मिति २०८० पोखरा पुष ८ गते सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका–४ ढुङ्गेगाडा, गौरीपोखरी स्थित श्री महेन्द्र आधारभूत विद्यालयमा न्यानो कपडा वितरण कार्यक्रम वडा कार्यालय–४का वडा अध्यक्ष श्री मुकुन्द बहादुर बंशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सिद्धार्थ क्लबले विगत ७ बर्ष देखी महेन्द्र आधारभूत विद्यालयमा शैक्षिक, पोशाक, खेलकुद लगायतका सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको कार्यको प्रशंशा गर्दै प्रमुख अतिथि मुकुन्द बंशीले अभिभावकहरुलाई विद्यार्थीहरु नियमित विद्यालय पठाउनुका साथै घरमा पठन पाठनको वातावरण निर्माण गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले विद्यालयमा बालबालिकाहरुको संख्या घटन नदिन विद्यालय परिवारले आफनो दायित्व पुरा गर्नु पर्ने भनाई राख्दै क्लबले आवश्यकता अनुसार विद्यालयलाई सहयोग गर्ने भनाई राख्नुभयो । यसैगरी क्लबका पूर्व अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठले सहयोगका कार्यक्रमले विद्यालय परिवारलाई अनुशाशित बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले विद्यार्थीहरुको अवस्था देखेर आफुलाई थप सहयोग गर्न इच्छा जागेको हुदा विद्यार्थीको पठन पाठनमा सहयोग पुर्याउन यथासिघ्र सिद्धार्थ क्लब मार्फत आवश्यक शैक्षिक सामग्री सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्झना राना मगर, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद रेग्मी र विद्यालयका कार्यवाहक प्रधानाध्यापक सिता पौड्यालले क्लबले विद्यालयमा गरेको सहयोगको प्रशंशा गर्दै प्राप्त सहयोगको सदुपयोग हुनेमा विश्वस्त रहन अनुरोध गर्दै विद्यालयले शैक्षिक गुणस्तर वृद्धिको कार्यमा प्रतिवद्ध रहेको भनाइ राख्नु भयो ।
कार्यक्रममा विद्यालयका ४४ जना विद्यार्थीहरुलाई न्यानो कपडा ( स्विटर,टोपी र मोजा) वितरण गरिएको थियो । कार्यक्रममा वितरण गरिएको न्यानो कपडा समाजसेवी तथा क्लबका पूर्व अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठ र उहाको घर्मपत्नी सुजा श्रेष्ठबाट सहयोग प्राप्त भएको थियो । सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा स्वागत तथा कार्यक्रम माथि प्रकाश निर्देशक रवि मर्सानीले गर्नुभएको थियो ।
Comments closed