पोखरा मंसिर २४

सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष श्री राजन खनालको प्रमुख आतिथ्यतामा रुपा गाउँपालिका–५ देउराली खडागाउँ स्थित श्री भैरवी आधारभूत विध्यालयमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुअ अतिथि राजन खनालले सिद्धार्थ क्लबले आफ्नो वडाका विद्यालयहरुमा विगत देखी शैक्षिक, स्वास्थ्य, बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा धन्यबाद व्यक्त गर्दै जाडो मौसममा न्यानो कपडा वितरण कार्यले विद्यार्थीहरुको विद्यालय आगमनमा सहयोग पुग्ने धारणा व्यक्त गर्दै वडाले शैक्षिक क्षेत्र सुधारका कार्यक्रमहरु योजना गरेको र सो कार्यमा संघ संस्थाहरुसंग समन्वय र सहकार्य महत्वपूर्ण रहने भनाई व्यक्त गर्नुभयो । यसैगरी सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले न्यानो कपडा वितरण कार्यक्रमले विद्यार्थीको स्वास्थ्य र शिक्षा आर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै गुणस्तर शिक्षा प्रदान गर्ने कार्यमा क्लबको सदैव सहयोग रहने भनाइ राख्नु भयो । कार्यक्रममा सिद्धार्थ क्लबका सल्लाहकार समितिका सचिव पार्वती माकाजू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केहर सिंह गुरुङ्ग र विद्यालयका प्रधानाध्यापक श्याम कुमार श्रेष्ठले   कार्यक्रमले विद्यार्थीहरुको स्वस्थ्यमा प्रत्यक्ष लाभान्वित गरी  शिक्षा आर्जनमा नियमितता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका २८ जना बालबालिकाहरुको लागी न्यानो कपडा (स्विटर, टोपी र मोजा) वितरण गरिएको थियो । वितरित सामग्रीहरु चिप्लेढुङ्गा पोखरा निवासी समाजसेवीद्धय युगेन पालिखे र मन्दिर श्रेष्ठबाट सहयोग प्राप्त भएको थियो । क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा निर्देशक रवि मर्सानीले  स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।

Comments closed