




स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी अभिमुखिकरण एवं गर्भवती तथा भि आइ ए र आँखा परिक्षण कार्यक्रम
पोखरा मंसिर १६
सिद्धार्थ क्लब पोखराको आयोजना, नेपाल नर्सिङ्ग संघ, जिल्ला समिति कास्की र हिमाल अप्टिकल हाउसको प्राविधिक सहयोगमा अन्नपूर्ण गाउँपालिका ९ हिले स्थित श्री हिले सामुदायिक स्वास्थ्य ईकाई परिसरमा अन्नपूर्ण गाउँपालिका वडा नं ९ का कार्यवाहक वडा अध्यक्ष श्री पुष्पा पुनको प्रमुख आतिथ्यतामा स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी अभिमुखिकरण एवं गर्भवती तथा भि आइ ए र आँखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पुष्षा पुनले कार्यक्रमले विपन्न समुदायका सदस्यहरु स्वास्थ्य सम्बन्धी जानकारी हासिल गरी भि आइ ए र आँखा परिक्षण बाट लाभान्वित भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमापनि अन्य कार्यक्रमहरु सञ्चालन गर्नकालागी अनुरोध गर्नुभयो ।
कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले समुदाय लक्षित कार्यक्रमले रोगको पहिचानका साथै आवश्यक औषधी वितरण र थप उपचारको परामर्शले सेवाग्राहीहरुको स्वास्थ्य समस्या न्यूनिकरण गर्न सहयोग पुग्ने विश्वाश व्यक्त गर्नुभयो । त्यसैगरि नेपाल नर्सिङ्ग संघ कास्कीका अध्यक्ष मुना सिलवालले कार्यक्रममा विशेषत महिलाहरुलाई महिला प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतना तथा परिक्षण कार्यक्रमले महिलाहरुको स्वास्थ्य स्थिती सम्बन्धी सचेतना गरेको विश्वास व्यक्त गर्दै नेपाल नर्सिङ्ग संघ, जिल्ला समिति कास्कीले समुदाय लक्षित अन्य स्वास्थ्य कार्यक्रममा सिद्धार्थ क्लबलाई प्राविधिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा ४२ जना महिलाहरुले भि.आइ.ए परिक्षण र ९९ जनाले आँखा परिक्षण गराएका थिए । क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रममा निर्देशक रवि मर्सानीले कार्यक्रमका सहभागीहरुलाई स्वागत तथा कार्यक्रम बारे जानकारी गराउनुभएको थियो ।
Comments closed